ASHA

सानीभेरीका दुई सय परिवारलाई सोलार

प्रकाशित: नयाँ पत्रिका  |  २०७६ बैशाख २७ शुक्रबार १०:५०:००

सानीभेरी गाउँपालिका–१० का दुई सय परिवारलाई सोलार वितरण गरिएको छ । पहाडी साना किसानका लागि अनुकूलन आयोजना (आशा) जिल्ला समन्वय एकाइले सोलार उपलब्ध गराएको हो । बिहीबार एक कार्यक्रमको आयोजना गरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले सोलार वितरण गरे । स्थानीय शिवशक्ति कृषक समूहसँग मिलेर सानीभेरीका तिमिले, चिन्तु, सार्कीमारे, घण्ठाना, डाँडाअर्मा, दाब्रेखोला, लाहौरडेरा र भेरीटोलका बासिन्दालाई अनुदानमा सोलार वितरण गरिएको हो ।

सोलारमा २६ लाख ३५ हजार एक सय ५० रुपैयाँ लागेको आशा कार्यक्रमले जनाएको छ । यसमा आशाले २० लाख १५ हजार एक सय ५० र उपभोक्ताले ६ लाख २० हजार लगानी गरिएको छ । प्रतिसेट १२ हजार नौ सय १७ रुपैंयामा खरिद गरिएको आशा परियोजनाकी निमित्त जिल्ला संयोजक भारती केसीले बताइन् । विद्युत्को पहुँचमा नपुगेका नागरिकलाई वैकल्पिक उर्जाको व्यवस्था गर्ने उद्देश्यले सोलार वितरण गरिएको उनले बताइन् ।

विद्युत्को पहुँच नपुगेका गाउँमा उज्यालोका लागि दाउरा, दियालो, मट्टितेल र पेट्रोल बाल्दा कार्बन उत्सर्जन बढिरहेको उल्लेख गर्दै आशा परियोजनाकी जिल्ला जलवायु परिवर्तन विज्ञ रेविका गुरुङले भनिन्, ‘सोलारबाट उज्यालो बनाई कार्बन उत्सर्जन रोक्न टेवा पु-याउनेछ ।’