ASHA

जंगल जोगाउन फलामे चुलो

प्रकाशित: कान्तिपुर  | असार १९, २०७६ १२:१५

रुकुम पूर्व — यहाँका स्थानीयले जंगल जोगाउन सुधारिएको फलामे चुलो प्रयोग गर्न थालेका छन् । परम्परागत चुलोमा एक महिनामा सकिने दाउरा सुधारिएको चुलोमा ६ महिनासम्म पुग्ने भएपछि उनीहरू यसतर्फ आकर्षित भएका हुन् । भूमे गाउँपालिका–५ ले जंगल जोगाऊ अभियानअन्तर्गत यस्तो चुलो वितरण गरेको हो । वडामा रहेका ३ सय ३८ घरधुरीमध्ये ३ सय ८ परिवारले फलामे चुलो पाएका छन् । ३८ परिवार वडा तथा गाउँभन्दा बाहिरै छन् ।
वडा कार्यालयको निर्णयअनुसार संघीय सरकारको वन तथा वातावरण मन्त्रालयअन्तर्गत पहाडी साना किसानका लागि अनुकूलन आयोजना आशा परियोजना र भूमे गाउँपालिकाको अनुदानमा वडावासीलाई फलामे चुलो वितरण गरिएको वडाध्यक्ष टेकप्रसाद बुढा मगरले बताए ।

गत फागुन ७ गतेको वडाको निर्णयअनुसार आशा परियोजनाको १५ लाख ५५ हजार ४ सय र भूमे गाउँपालिकाको ४ लाख ४ सय अनुदान गरी १९ लाख ५५ हजार ८ सय रुपैयाँको लागतमा ३ सय ८ घरधुरीलाई चुलो वितरण गरिएको हो । स्थानीय सेराबाङ सामुदायिक वन उपभोक्ता समितिले टेन्डरमार्फत चुलो खरिद गरेको हो । प्रतिचुलो ६ हजार ३ सय ५० रुपैयाँ परेको छ । वडालाई धूवाँमुक्त बनाउन वडाका सबै घरमा फलामे चुलो वितरण गरिएको वडाध्यक्ष बुढाले बताए ।